हिमपातका कारण अलपत्र यात्रुको उद्धार
रुकुम पूर्व | फागुन १८, २०८१
रुकुम पूर्व: रुकुमपूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्गमा अलपत्र यात्रुको उद्धार गरिएको छ ।
शुक्रबार रातिदेखि परेको हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको लुकुम–पातिहाल्ना क्षेत्रमा रुकुमपश्चिमबाट काठमाडौँका लागि छुटेका तीनवटा बससँगै अन्य साना गाडीमा सवार यात्रुको उद्धार गरिएको छ ।
हिमपातका कारण बाटो बन्द भएपछि शुक्रबार दिउँसोबाट बस रुकुमपूर्व र बागलुङ सिमाना पार गर्न नसक्दा यात्रु अलपत्र थिए ।
रुकुमपश्चिमबाट काठमाडौँका लागि छुटेको बस शुक्रबार दिउँसो पातिहाल्ना नजिक पुगे पनि हिउँका कारण अगाडि बढ्न नसक्दा रातभरि र शनिबार दिनभर बसमै बिताएको रुकुमपश्चिमकी प्रेमिका मल्लले बताउनुभयो ।
त्यहाँ नजिकै होटल नभएको र पातिहाल्नामा भएको साना दुई होटलमा बस्न नअटाउने भएपछि ४८ घण्टासम्म खाना नपाएर बिताएको यात्रुहरूले बताएका छन् ।
शनिबार दिनभरि मध्यपहाडी लोकमार्गमा भएको हिउँ पन्छाएर यात्रुको उद्धार गरिएको रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो । रुकुमपूर्वको लुकुम–पातिहाल्ना खण्डको लगभग पाँच किलोमिटर र बागलुङ खण्डको दुई किलोमिटरमा रहेको हिउँ पन्छाएर यात्रुको उद्धार गरिएको उहाँले बताउनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा हिउँ पन्छाइएको थियो ।
हिउँ पन्छाएपछि काठमाडौँका लागि रुकुमबाट छुटेका बस र रुकुमबाट काठमाडौँका लागि छुटेका बसलाई वारपार गराइएको छ । साथै दर्जनाँै बढी साना गाडीलाई पनि वारपार गराइएको रुकुमपूर्वका प्रहरी निरीक्षक हिमबहादुर केसीले जानकारी दिनुभयो ।
हिउँमा फसेका यात्रुको उद्धारपश्चात रातिको समयमा उक्त सडक भएर बस नचलाउन भनिएको छ । आइतबार बिहान मध्यपहाडी लोकमार्गको यो खण्डको अवस्था हेरेर मात्र यातायातका साधन सञ्चालन गर्ने वा नगर्ने भनेर जानकारी गराइने प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो । रुकुमपूर्व र बागलुङ सिमानामा बर्सेनि हिमपातका कारण लोकमार्ग अवरुद्ध हुने गरेको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

